हत्याको रहस्य पता लाग्नेछ – ओली
काठमाडौं, ३ जेठ
एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रित हत्याको रहस्य पता लाग्ने बताएका छन् ।
मदननगर, बल्खु स्थित एमाले पुरानो पार्टी कार्यालयमा बुधबार २४ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले हत्याको रहस्य पता लाग्ने बताए । साथै पुर्वराजा बीरेन्द्र सहितको राजपरिवार हत्याकाण्डको पनि रहस्य पता लाग्ने दाबी गरेका छन् ।
‘एमाले बिरुद्ध ठुल्ला षडयन्त्र हुने गरेको छ, दासढुंगा काण्ड पनि त्यही क्रममा भएको हो’ ओलीले भने, ‘मदन–आश्रित हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता ठुला षडयन्त्रको रहस्य पता लाग्न समय लाग्छ, तर पता लाग्छ ।’
एमालेको बिरुद्धमा ठुलै षडयन्त्र गर्ने उदेश्यले यस्ता घटना घटाउँने गरेको भए पनि त्यो रहस्यको पता लाग्ने बिश्वास उनले व्यक्त गरेका छन् ।
एमाले नेताले दासढुंगा काण्डलाई दुर्घटना नभई योजनाबद्ध नियोजित हत्या भन्दै त्यसको रहस्य सार्वजनिक गर्न माग गर्दै आएका छन् ।
एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल ३ जेठमा चितवनको दासढुंगा दुर्घटनामा परी निधन भएको थियो । पार्टी कार्यक्रममा सहभागि हुनका लागि पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रित चढेको गाडी त्रिशूली नदीमा खसेको थियो ।

Comments
Post a Comment