फोरम नेपाल र लिम्बुवान पार्टी बीच एकिकरण, बहुराष्ट्रिय राज्य स्थापना गर्ने संकल्प

सुभाष साह/राजधानी 
काठमाडौं, १ जेठ

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टी नेपाल बीच पार्टी एकिकरण भएको छ । दुबै पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता भएको हो । 
फोरम नेपालको तीनकुने स्थित पार्टी कार्यालय सोमबार एक समारोहका बीचमा पार्टी एकिकरण घोषणा गरिएको छ । एकिकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल र अध्यक्षमा उपेन्द्र यादव नै रहने सहमती भएको छ । 

नेपाली समाजमा बिद्यमान रहेको जातीय, बर्गीय, क्षेत्रिय, लिङगीय, समुदायगत, भाषागत, भाषिक, साँस्कृतीक, धार्मिक र जातमा आधारित उत्पीडनको अन्त्य गर्न पार्टी एकिकरण गरिएको बताईएको छ । 

एकिकृत पार्टीले आत्मनिर्णयको अधिकार र स्वशासित सहितको लिम्बुवान, किराँत, शेर्पा, मधेस, ताम्सालिङ, नेवाः , तमुवान, मगरात, खसान, थरुहट, शिल्पी (दलित) सहितको स्वायत प्रदेसहरु निर्माणको सुनिश्चित गर्नेछ । 

पार्टी एकिकरण गर्नुको उदेश्य बहुराष्ट्रिय राज्यको रुपमा बिकास गर्ने रहेको छ । लोकतन्त्र र बहुराष्ट्रिय राज्य निर्माणमा संघीय समाजवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा एकिकृत पार्टीले स्वीकार गरेको छ ।

‘पहिचानमा आधारित अधिकार सम्पन्न स्वायत क्षेत्र तथा संरक्षित र बिशेष क्षेत्रहरुको निर्माण गर्ने, बहुभाषिक बहुसांस्कृतीक तथा समानुपातिक समाबेशीपुर्ण राज्य र यसका सबै अंगहरु निर्माण गर्ने, समतापुर्ण न्यायिक समाजको स्थापना गर्दै नेपाललाई सम्बृद्ध एवं स्वाभिमानपुर्ण बहुराष्ट्रिय राज्यको रुपमा बिकास गर्ने उदेश्यलाई आत्मसात गर्छौ’ एकिकृत पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ । 

यस्तै सहभागिपुर्ण लोकतान्त्रिक बिधिबाट नेपालको अग्रगामी परिवर्तन र सम्बृद्धिको लागि राजनीतिक नेतृत्व गर्न सक्षम फोरमलाई राष्ट्रिय पार्टीको रुपमा निर्माण गर्ने संकल्प नेताहरुले लिएका छन् । 

बर्तमान नेपाल निर्माणसंगै शुरु भएको जातीय, भाषिक, साँस्कृतिक दमनका बिरुद्ध लिम्वुवान लगायतका बिभिन्न क्षेत्रहरुमा स्वायतताको लागि पटक पटक भएका बिद्रोह, संघर्ष र आन्दोलनहरुबाट शिक्षा लिदै पार्टी एकिकरण गरेको नेताहरुले बताएका छन् । 

पार्टी एकिकरण घोषणा सभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष यादवले मधेस, लिम्बुवान, थारु आन्दोलनको सम्बोधन नगरी संबिधान अधुरो रहने भएकाले संशोधन गर्नुपर्ने बताए । 
अधिकार र पहिचानका लागि जारी संघर्षलाई उचाईमा पुर्याउन  मधेशी, आदिवासी जनजाति लगायत समग्र उत्पीडित समुदाय मिल्नुको विकल्प नरहेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्तिका लागि संघर्षरत सबै शक्तिलाई एकताका लागि आह्वान गरेका छन् ।  
सरकारलाई बुलेटको जवाफ ब्यालेटले दिने चेतावनी दिदै उनले मधेश आन्दोलनको समयमा राज्यले मधेशीलाई गोली हानेर हत्या गरेकाले त्यसको जवाफ ब्यालेटबाट दिने बताए ।
‘धेरैले मलाई निर्वाचनमा किन गएको भनि प्रश्न गर्छन्, अब यो राज्यलाई ब्यालेटबाट जवाफ दिने बेला आएको छ, चुनावमार्फत शक्ति निर्माण गरि राज्यमाथि धावा बोल्छौं ।’ यादवले भने, ‘लोकतन्त्रमा चुनावलाई इन्कार गर्न सकिदैन, राज्यसँग लड्नु नै हो, आदिवासी जनजाति, मधेशीसँग भेदभाव गरेको राज्यसँग चुनावमा भाग लिएर पनि लड्न सकिन्छ ।’
तीन दलले ल्याएको सविधान नश्लीय र विभेदकारी रहेको भन्दै उनले त्यसलाई पुनर्लेखन गर्नुपर्छ भनि पहिलादेखि नै आफूले भन्दै आएको र त्यसबाट आफू पछि नहटेको स्पष्ट पारे ।
सरकारले ल्याएको सविधान संशोधनले केही पनि समस्या समाधान नहुने बताउँदै उनले सरकारले तत्काललाई यो विधेयक पारित गरे बाँकीका लागि पुनः संघर्ष गर्ने बताए ।
यसैगरी, एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लिम्बुवान पार्टीका अध्यक्ष माखिमले  राज्यलाई सिंहदरबारमा बसेर हुंकार दिनुभन्दा हिम्मत भए आफूहरुले उठाएको अधिकार विरुद्ध लिम्बूवान पुगेर बोल्न चेतावनी दिए । 
‘लिम्बूवानको आवाज सिंहदरबारमा सुनिँदैन, सुनिए पनि सानो स्वरमा सुनिन्छ । तर आवाज सानो सुनियो भन्दैमा लिम्बूवानको आवाजलाई उपेक्षा नगरे हुन्छ’ माखिमले भने, ‘सरकारसँग हिम्मत छ भने लिम्बूवान पुगेर हाम्रो आवाज सुन्ने साहस गरोस् ।’ 
समयकाल अनुसार मधेशी एवं आदिवासी जनजातिसहित उत्पीडित समुदायलाई एक ठाउँमा गोलबद्ध हुन अनिवार्य रहेको भन्दै नेता माखिमले सँगै मिलेर संघर्षमा उत्रिन सबैलाई आह्वान गरकेका छन् । 








Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !