बहुमत सहित पहिलो शक्ति बन्नेः एमाले
सुभाष साह/राजधानी
काठमाडौं, २८ काठमाडौं
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनमा बहुमत सहित पहिलो शक्ति बन्ने दाबी गरेको छ । पहिलो चरणको निर्वाचनमा आश्चर्यजनक नतिजा ल्याउँने दावी एमालेले प्रस्तुत गरेको छ ।
एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले ५० देखी ६० प्रतिशत सम्मको स्थानमा बिजयी हुने ठोकुवा गरेका छन् । एमालेप्रति बढदै गईरहेको जनलहरका कारण यो संख्या अझै बढने बिश्वास उनले व्यक्त गरेका छन् ।
‘स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेले ५० देखी ६० प्रतिशत भन्दा बढी ठाउँमा बिजयी हुन्छ,’ पोखरेलले भने, ‘तर एमालेप्रतिको बढदै गईरहेको जनलहरका कारण यो संख्या अझै बढदै जान्छ ।’
३१ बैशाखमा पहिलो चरणको स्थानिय तहको निर्वाचन हुदैछ । प्रदेश नं. ३, ४ र ६ मा चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १७६ नगरपालिका रहेका छन् ।
काठमाडौं, ललितपुर, भरत्तपुर र लेखनाथ पोखरा सहित चार वटै महानगरपालिका एमालेले जित्ने दावी पोखरेलले गरेका छन् । संबिधान निर्माण गर्न प्रमुख भुमिका खेल्ने, संबिधानको कार्यान्वयन गर्ने, राष्ट्रियताको रक्षा, स्वभिमान र आर्थिक समृद्धिको बिषयमा एमालेको प्रष्ट योजना भएका कारण जनताको बिश्वास एमालेप्रति रहेकाले जित सुनिश्चित रहेको उनले बताए ।
एमाले केन्द्रीय सदस्य एवं प्रचार बिभागका प्रमुख सूर्य थापाले एमालेको तर्फबाट चुनावी तयारी पुरा भएको बताए । जनताका बीचमा जाने, आफ्ना योजना बताउँने, मत माग्ने लगायतका काम पुरा भएको बताए ।
एमालेले पहिलो चरणमा निर्वाचन हुने ठाउँहरुमा प्रचार प्रसार, घरदैलो, सभा, र्याली सम्पन्न गरेको छ । समाजिक सञ्जाल, सञ्चारमाध्यम लगायतको व्यापक रुपमा एमालेले प्रयोग गरेको छ । एमाले नेतृत्वको सरकारले गरेका सकारात्मक कामका बिषयमा प्रचार गर्दै मतदातासंग मत माग्ने काम गरेको छ ।
कारवाही गर्न माग
यता एमालेले निर्माण गरेको विद्युतीय प्रचार सामाग्रीलाई तोडमोड गरी भ्रामक शैलीमा सामाजिक सञ्जालहरुमा राख्ने व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारवाही गर्न माग गरेको छ ।
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराई पार्टीले निर्माण गरेको चुनावी प्रचारका विभिन्न विद्युतीय प्रचार सामाग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरी अपवाह फैलाउँने कामप्रति सचेत रहन आग्रह गरेका छन् ।
नेपालको प्रचलित कानुन बमोजिम एकातिर प्रतिलिपी अधिकारको उल्लंघन गरिएको छ भने अर्कातिर व्यक्ति÷संस्थाको मानमर्दन गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग गरिएको ठहर एमालेको रहेको छ ।
प्रधानमन्त्री,मन्त्रीले निर्वाचन अचारसंहिताको उल्घंन गरे
प्रधानमन्त्री पुष्पकमल दाहाल सहित मन्त्रीहरुले निर्वाचन अचार संहिताको उल्घंन गरेको पोखरेलले आरोप लगाएका छन् । अचार संहितको उल्घंन गर्नेलाई कारवाही गर्नुपर्ने माग निर्वाचन आयोगसंग उनले गरेका छन् ।
एमाले प्रचार बिभागले बागबजारमा आयोजना गरेको पत्रकार सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै पोखरेलले राज्यकै तर्फबाट सुनियोजित तरिकाले समाजिक सञ्जालको चरम दुरुपयोग भईरहेको आरोप लगाएका छन् । निर्वाचनमा आफ्नो पक्षमा जनमत नदेखेपछि सत्तापक्षीय दलका नेता हिंसामा उत्रेको पोखरेलले बताए ।
संघीयताको कार्यान्वयनका लागि भईरहेको स्थानीय तहको निर्वाचनलाई सफल बनाउँन र उत्साहका साथ सहभागि हुन एमालेले जनतासंग आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचन राष्ट्रिय स्वभिमान र लम्पसारबाद बीचको जनमत संग्रह पनि रहेको बताउँदै पोखरेलले भोलीको राजनीतिक कुन मोडमा लाने त्यसलाई दिशा निर्देश यही निर्वाचनले गर्ने बताए ।

Comments
Post a Comment