निर्वाचन बिथोल्न शसक्त आन्दोलनको तयारीमा गठबन्धन ६८ दलसंग सहकार्य गर्ने


सुभाष साह÷राजधानी
काठमाडौं, २ बैशाख


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनले डा. बाबुराम भट्टराई नेतृत्वको ६८ दलिय गठबन्धनसंग सहकार्य गर्दै आन्दोलन अघि बढाउँने भएको छ ।

संघीय समाजबादी फोरम नेपालको तिनकुने स्थित पार्टी कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकमा अगामी आन्दोलनको बिषयमा छलफल गर्दै ६८ दलिय गठबन्धनसंग सहकार्य गरेर स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलन गर्ने निष्कर्ष निकालेको छ ।

आईतबार (आज) बाट गठबन्धनको आन्दोलनका कार्यक्रम सकिने र आईतबार नै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने गठबन्धनले जनाएको छ । आन्दोलनका कार्यक्रम र स्वरुपका बिषयमा निर्णय गर्नका लागि आईतबार गठबन्धनका शिर्ष नेताहरुको बैठक बोलाईएको छ ।

राष्ट्रिय मधेस समाजबादी पार्टीका महासचिव केशव झाले संबिधान संशोधन गरेर मधेसी मोर्चा सहितको गठबन्धनको माग पुरा नगरी स्थानीय तहको निर्वाचन भईरहेकाले आन्दोलन कार्यक्रम शसक्त हुने बताए ।

‘बैठकमा आन्दोलनका कार्यक्रम कस्तो हुने भन्ने बिषयमा छलफल भयो, आन्दोलनका कार्यक्रम शसक्त हुने निष्कर्ष हाम्रो छ’ झाले राजधानीसंग भने, ‘हाम्रो माग पुरा नगरी हुने निर्वाचन हामी कुनै हालतमा हुन दिदैनौं, बाबुरामजी नेतृत्वको ६८ दलिय गठबन्धनसंग सहकार्य गर्दै आन्दोलनका कार्यक्रम कडा बनाउँने छौं ।’

६८ दलिय गठबन्धनसंग मिल्ने मुद्धामा सहकार्य गर्दै देशैभरी संयुक्त आन्दोलन शसक्त रुपमा गरिने निर्णय गठबन्धनले गरेको उनले बताए । प्रमुख तीन दलले मुलुकमा अस्थिरता ल्याई जनतालाई शोषण गर्न खोजेको आरोप गठबन्धनले लगाएको छ ।

बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा दर्ता गराएको संबिधान संशोधन बिधेयक अधुरो र अपुरो रहेको बताउँदै आन्दोलनको बिकल्प नरहेको बताए । काँग्रेस, माओबादी र एमालेले जनतालाई अधिकार दिन नचाहेको आरोप लगाउँदै उनले आन्दोलनबाटै अधिकार प्राप्त गरिने बताए ।

अबको आन्दोलन कस्तो हुने भन्ने बिषयमा छलफल गर्न बसेको बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचन कुनै हालतमा हुन नदिने धारणा राखेका छन् । ३१ बैशाखको निर्वाचन कुनै पनि बहानामा सार्न वा दुई चरणमा गर्न नहुने भन्ने अडानमा एमाले रहेको र गठबन्धनले निर्वाचन हुनै नदिने गरी आन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

अहिले दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका नयाँ शक्ति पार्टी नेपाल सहितका ६८ दलिय गठबन्धनले मधेसी मोर्चा सहितको गठबन्धनसंग सहकार्य गर्ने की नगर्ने भन्ने बिषयमा निर्णय गरेको छैन् । तर मोर्चा सहितको गठबन्धनले ६८ दलिय गठबन्धनसंग आन्दोलनमा सहकार्य गरेर निर्वाचन बिथोल्ने रणनीति बनाईरहेको छ ।

६८ दलिय गठबन्धनले दलिय चुनाव चिन्हको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेका छन् ।  

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !